कौशल चेम्जोङ 

कृपया यो पेज Like गर्नु होला

के ले रोक्या छ, असारे विकासलाई ? यत्तिका दिनसम्म के गर्दै बसे सरकारी संयन्त्र ? दुई तिहाइको सरकारले विकासे कामका लागि छुट्याएको बजेटको कति अंश खर्च गर्न सक्यो ? तलब नबढ्दै महँगी बढाउन सहयोग पु¥याउने बजेट भाषणले निम्न र अतिविपन्न वर्गको स्थितिमा के प्रतिकूलता ल्यायो ? सरकारी कर्मचारीको तलब बढे पनि अन्य क्षेत्रको बढेको छैन । हामी भने आफ्नो गाउँ आफैं बनाऔंलाई ब्युँताएर मख्ख छौं । बृद्धभत्ता एक हजार थपिएकोमा दंग छौं ।


एकचोटिको लगानीले वर्षौंवर्ष र पुस्तौंपुस्ता ब्याज खाने दाउ राम्रो होइन, यो  समाजवाद होइन, नवसामन्तवाद उन्मुख सोच हो । जबसम्म असारे विकासको प्रवृत्ति रोक्न सक्दैनौं तबसम्म विकास होइन विकृतिको पहाड खडा हुनेछ । र, यसो गर्ने छुट नेपाल कम्युनिष्ट पार्टीको सरकारलाई छैन भनेर नेताले भनिरहँदा चुक चैं कहाँ भयो ? दलालको चंगुलबाट असारे विकासलाई ब्रेक लगाउन पार्टी नेतृत्व र तीनै तहको सरकारमा रहेका केही प्रभावशाली मन्त्रीले ढृढ इच्छाशक्ति देखाए मात्रै पनि पुग्छ ।

कतिपय नेताले कर्मचारीले असहयोग गरेकै कारण विकास निर्माण समयमा सम्पन्न हुन नसकेको, सार्वजनिक खरिद–बिक्री ऐन विकास निर्माणमा बाधक भएको बताउँदै आएका छन् । यस्तो बेला ऐन संशोधन गरेर भए पनि कामको वातावरण सिर्जना गर्न दुईतिहाइको सरकारलाई केले रोक्यो ? काम वा योगदानका आधारमा कर्मचारीलाई दण्डित वा पुरस्कृत गर्ने नीतिलाई व्यावहारिक कार्यान्वयन गर्नबाट कसले छेक्यो ? काम हुन सकेन, कर्मचारीले सहयोग गरेनन्, वातावरण नै भएन भन्दै कुर्सीमै टाँसिएर बस्नुको अर्थ छैन ।

गरेका कामको जश लिनुपर्ने बेला विवादमा मात्रै किन तानिएका छन् ? सरकारको काममा ब्रेक लागोस् भनेर मात्र विवाद गरिएका हुन् कि साँच्चै सच्चिनुपर्ने अवस्था छ ? आत्मलोचना गर्ने परिपाटी र आत्मसमीक्षा गर्ने हुती हराएजस्तो छ । लाग्छ, कांग्रेसको नियति भोग्न नेकपाले धेरै दिन कुर्नु पर्दैन । किनभने अहिले पार्टीभित्र विचार विस्थापित अनि व्यक्ति स्थापित बन्दै गएको अवस्था छ । कहिले पनि सत्ताबाट ओर्लिनुपर्दैन जस्तो गरी केही नेता डुक्रेका छन् ।

यस्तो बेला शक्तिशाली नेतृत्वमा देखिएका दुई नेताको मुख एक हुनुपर्ने हो । एकले विष पिउने, अर्कोले अमृत पिउने अवस्था सिर्जना नहुनुपर्ने हो । एउटा मन्त्रालयले सडक बनाउने ठेक्का निकाल्छ, अर्को मन्त्रालयले यो वा त्यो मिलेन भनेर काम गर्न दिँदैन, यस्तो नीति जो आफैंमा बाझिएका छन्, सुधार ल्याउन केले रोक्यो ? असारे विकास भन्दै हामी त्यसैमा रमाइरहेका त छैनौं ? आफ्नो कमीकमजोरी अरूको थाप्लोमा हालेर पानीमाथिको ओभानो बन्ने प्रयासमा नलाग्दै बेश हुन्छ । किनभने जनता सोचेजस्ता मूर्ख हुँदैनन् ।

जनआस्था साप्ताहिकबाट

तपाईको प्रतिक्रिया