विमल खतिवडा

काठमाडौँ — ‘न पार्टीबाट आस छ, न सरकारबाट । ठूलो कुरा मृत्युलाई जितें । अब गाउँ फर्किने इच्छा छ तर खुट्टा राम्रोसँग टेकिएका छैनन्,’ शुक्रबार बिहान तीनकुनेस्थित कोठामा हातका औंला भाँच्दै पूर्वसांसद ७१ वर्षीय नारायणबहादुर कार्कीले भने, ‘बिरानो यो काठमाडौं आएको १८ महिना ११ दिन पुगेछ ।’

कृपया यो पेज Like गर्नु होला

लामो समय उनले यही अँध्यारो कोठामा बिताए । बाहिर निस्कन सकेका छैनन् । उनलाई कतिखेर गाउँ पुगुँजस्तो भएको छ । भन्छन्, ‘सहरमा कोही आफन्त भएनन् । पीडामा साथ र सहानुभूति दिने कोही निस्किएनन् । घटना भएका बेला सम्झिने धेरै थिए । अहिले सबै पराइ भए ।’

०७४ मंसिर १३ गते । यो दिन उनी सम्झन चाहँदैनन् । ०७० सालमा उदयपुर क्षेत्र २ मा कांग्रेसबाट निर्वाचित उनले ०७४ मंसिरको चुनावमा पनि टिकट पाए । चुनावी प्रचार क्रममा उदयपुरगढी गाउँपालिकास्थित दनुवारबेसीतर्फ जाँदै गर्दा उनीसहित ९ जना सवार गाडी नेत्रविक्रम चन्द समूहले राखेको विद्युतीय धरापमा पर्‍यो । उनी र विद्यार्थी नेतृ मीरा कटुवाल गम्भीर घाइते भए । अरू सामान्य घाइते भए ।

‘एक सेकेन्डअगाडिपड्किएकाले बाँचिएछ,’ गहभरि आँसु पार्दै उनले भने, ‘थोरै पछि पड्किएको भए मेरो नाम पनि सहिदको सूचीमा मिसिन्थ्यो ।’ घटनास्थलमा देख्ने कसैले पनि उनी बाँच्ने आशा राखेका थिएनन् । दाहिने खुट्टा बमले थिलिपितिली बनेको थियो । ‘चिकित्सकले खुट्टाको हड्डी कुहिन सक्ने सुनाए, खुट्टा पनि नीलो हुँदै गएको थियो,’ उनले भने, ‘चिकित्सककै सल्लाहअनुसार खुट्टा काट्न तयार भएँ ।’ उनको दाहिने खुट्टा काम नलाग्ने भएपछि ०७५ जेठ २५ गते त्रिवि शिक्षण अस्पतालमा काटियो ।

यो अस्पतालमा मात्र दुई पटक गरेर ५ महिना बसें । अहिले सक्कली खुट्टा छैन । नक्कली खुट्टाको सहारामा उभिन सिक्दै छन् । हिँड्न खोज्दै छन् । तीन महिना बढी सेनाको सिहाब सेन्टर एराहिटीमा बसेर लगाएको यो खुट्टा पनि आईसीआरसी संस्थाबाट सहयोगस्वरूप पाएका हुन् । खुट्टा लगाउन पनि उक्त संस्थाले नै सहयोग गरेको थियो ।

बिहान ५ बजे श्रीमती देवी उनको सहारा बन्छिन् । हातलाई ‘आड दिने लौरो’ अर्को सहारा हुन्छ । समस्या शौचालयको छ । कमोड भएको शौचालय नभए समस्या हुन्छ । उनको हेरचाह देवीले गर्दै आएकी छन् । उकालो–ओरालो हिँड्न समस्या हुन्छ । सामान्य रूपमा तेर्सो बाटो भने हिँड्न सक्छन् । ‘घरगाउँमा हुँदा सधैं व्यस्त हुन्थें, जनताको घरदैलोमा पुगिन्थ्यो,’ खुट्टा खोलेर झ्यालतिर सुसाउँदै उनले भने, ‘आज एक्लो भएको छु, हराएजस्तो महसुस भएको छ, सबैतिरबाट गुमनाम भएको अनुभूति गरेको छु ।’ अहिले गाउँतिर पार्टीको जागरण अभियान चलिरहेको छ ।

‘फोन गरेर गाउँगाउँबाट तपाईंलाई सम्झिइरहेका छौं भन्नुहुन्छ,’ उनले भावुक हुँदै भने, ‘कहिले हिँड्न सक्ने भएर गाउँ पुगौंजस्तो भएको छ ।’उनको देब्रे खुट्टाको कुकुर्चामा पनि विस्फोटको असर परेको छ । गोलीगाँठोको हड्डी फुटेकाले त्यसको पनि भर छैन ।

आईएस्सी पढेका उनले १९ वर्ष शिक्षण गरे । शिक्षण छाडेपछि राजनीतिमा सक्रिय बने । ०४६ सालबाट राजनीतिमा जोडिएका थिए । ०५२ सालमा कांग्रेसको जिल्ला सभापति बने । पार्टी फुटेपछि शेरबहादुर देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसबाट सभापति बने ।

अहिले घटना सम्झिँदा उनको मन पोल्छ । ‘घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकालाई पनि प्रहरीले छाडिदियो, को दोषी थियो पत्तो पाउन सकिएन,’ उनले भने, ‘यस्ता घटना नदोहोरिने भए म हजारपटक माफ दिन तयार छु, तर हिंसाको राजनीति त्यागेर आएकालाई ज्यानै लिने गरी घटाएको घटनामा कसरी माफी दिन सकिन्छ ?’

देउवा नेतृत्वको सरकार हुँदा ५ लाख र पार्टीबाट ७ लाख उपचार खर्च पाए । विभिन्न संस्थाबाट समेत सहानुभूति स्वरूप सहयोग पाए । ‘आस सहयोगमा मात्र होइन,’ उनले थपे, ‘अपांग भएर ओछ्यान परेको छु, तँ हिम्मत नहार, ठीक हुन्छस्, हिँड्न सक्छस् भनेर साहस दिने कोही भएनन्, कोही आएनन् ।’

अहिले उनलाई दुई कुराले पीडा थपिरहेको छ । एउटा जसको गाडी भाडामा लगेका थिए, त्यो ध्वस्त भयो । गाडीको क्षतिपूर्ति चालक राजन कार्कीले पाउन सकेका छैनन् । उनको रोजीरोटी गुमेको छ । चालक कार्कीले २५ लाखमा जिप किनेको एक वर्ष मात्रै भएको थियो । क्षति मूल्यांकन गर्ने क्रममा जिल्ला प्रशासनले २० लाख मूल्यांकन गरी गृह मन्त्रालयमा पठाएको थियो । ‘राज्यले सुरक्षा दिन नसक्दा यति ठूलो क्षति भएको हो,’ उनले भने, ‘मूल्यांकन समितिले २० लाखको क्षति मूल्यांकन गरे पनि क्षतिपूर्ति दिइएन ।’

आम्दानीको स्रोत केही छैन । सरकार र पार्टीबाट पाएको सहयोग उपचार र परिवार पालिँदैमा सकियो । अस्पतालभित्र औषधि निःशुल्क भए पनि धेरै बाहिरबाट ल्याउनुपरेको उनले सुनाए । जसको बिल ३ लाख ७८ हजार छ । गृह मन्त्रालयमा पठाएको बिलको रकम अहिलेसम्म परिवारले पाउन सकेका छैनन् ।

‘वर्तमान सरकारसँग केही मागेको छैन, फेरि म प्रतिपक्षी पार्टीको कार्यकर्ता परें,’ उनले भने, ‘नेत्रविक्रम चन्द समूहलाई वार्तामा बोलाइरहेको समयमा मलाई कसरी सरकारबाट सहयोग होला र ? एकपटक प्रधानमन्त्रीलाई भेटेर सबै कुरा राख्न मन छ, त्यो अवसर अहिलेसम्म पाउन सकेको छैन ।’

मधुमेह रोगी उनको दाहिने आँखामा मोतियाविन्दु भएपछि शल्यक्रिया गरिएको छ । ‘म न प्रधानमन्त्री बन्ने, न पार्टीको केन्द्रीय सभापति, अहिलेसम्म पार्टीमा एउटा इँटा थप्ने काम त गरेको छु नि,’ उनले भने, ‘यस्तो अवस्थामा पनि पार्टीले वास्ता नगर्दा असाध्यै पीडा भएको छ ।’ केन्द्रीय नेताले नसम्झिएकोमा उनको गुनासो छ । ‘भेट्नु त परै जाओस्, पार्टीका शीर्ष नेताहरू अहिले फोन पनि गर्दैनन्,’ उनले भने । कार्की ०६४ सालदेखि निरन्तर चुनावमा प्रतिस्पर्धा गर्दै आएका छन्  ।
कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया