विराटनगर, २२ बैशाख । प्रदेश १ को राजधानीका तोक्ने प्रस्ताव दर्ताका लागि उच्चतम् गृहकार्य भएपनि दलहरुबीच सहमति नबन्दा विराटनगर र धनकुटा राजधानी तोक्न माग गर्दै चारवटा प्रस्ताव दर्ता भएका छन् । प्रदेशसभामा दुई तिहाई रहेको नेकपा र प्रमुख विपक्षी दल नेपाली कांग्रेसकै सांसदले नेतृत्व गर्दै विराटनगर र धनुकटँका पक्षमा अलग–अलग प्रस्ताव दर्ता गरेका हुन् ।

कृपया यो पेज Like गर्नु होला

यसअघि बैसाख १९ गतेसम्म प्रदेशको राजधानी र नामाकरण तोक्ने प्रस्ताव दर्ता गर्न सभामुख प्रदीपकुमार भण्डारीले निर्देशन दिएका थिए । सहमतिको खोजीमा दलहरुबीच छलफल चलिरहेको भन्दै उक्त समय अवधि बढाएर आइतबारसम्मको समय तोकिएको थियो । निर्धारित समयभित्रै चारवटा प्रस्ताव दर्ता भएका हुन् ।

संसद सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले विराटनगर राजधानी तोक्न माग गर्दै सत्ताधारी दल नेकपाका तर्फबाट प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीको प्रस्तावमा लिलम बस्नेत, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, यसोदा अधिकारी, राजेन्द्रकुमार राई र बिमल कार्की समर्थक रहेको प्रस्ताव दर्ता भएको छ ।

सहमतिमै राजधानी तोक्ने प्रस्तावका लागि सत्तारुढ दल नेकपाको ‘ग्रीन सिग्नल’ पर्खिएको कांग्रेसले पनि अन्तिम समयमा विराटनगरलाई राजधानी तोकेर आफ्नो अलग्गै प्रस्ताव दर्ता गरेको हो ।

कांग्रेसको प्रस्तावमा संघीय समाजवादी फोरमका संदीय दलका नेता जयराम यादवले साथ दिएका हुन् । कांग्रेसका तर्फबाट प्रमुख सचेतक केदार कार्कीले प्रस्तावक छन् । शिवनारायण गनगाँई, विन्दीया कार्कीले विराटनगर राजधानी प्रस्तावमा समर्थक बसेका हुन् । विराटनगरनै राजधानी हुनुपर्ने माग गर्दै आएका यादवले कांग्रेसको प्रस्तावमा समर्थन जनाएका हुन् ।

धनकुटालाई राजधानी तोक्ने प्रस्तावमा धनकुटाबाट प्रतिनिधित्व गर्ने सांसदहरु भने एकमत देखिएका छन् । नेकपाबाट सांसद निरन राईको प्रस्तावमा नेकपाकै इन्द्रमणि पराजुली र कुसुमकुमारी श्रेष्ठले समर्थन जनाउँदै धनकुटा राजधानी तोक्ने माग गरिएको प्रस्ताव दर्ता भएको हो । त्यसैगरी कांग्रेसकी सांसद लिला सुब्बाले पनि धनकुटालाई राजधानी तोकिनु पर्ने प्रस्ताव दर्ता गराएकी हुन् । उनको प्रस्तावमा कांग्रेसकै प्रतापप्रकाश हाङ्गाम र रामचन्द्र लिम्बूले समर्थन गरेका छन् । लिम्बू संघीय समाजवादी फोरमका हुन् ।

प्रदेशको स्थायी राजधानी र नामाकरण तोक्ने बिषयमा निर्णयमा पुग्न पाँच दिनयता दलहरु आफ्नो पार्टीभित्र र अन्तरपार्टी छलफलमा जुटेका थिए । तर उनीहरुबीच राजधानीको प्रस्ताव सर्वसम्मत बनाउन सहमति जुटेन । प्रमुख दलदेखि तीन सदस्य रहेको संघीय समाजवादी फोरमका सांसदसमेत विभाजित बने ।

प्रदेशसभामा ९३ सांसद मध्ये नेकपाका ६७, कांग्रेसका २१, संघीय समाजवादी फोरमका तीन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक–एक सांसद छन् । प्रदेशको राजधानी र नामाकरणको प्रस्ताव प्रदेशसभाको दुई तिहाइ मतले पारित गर्नुपर्ने संबैधानिक व्यवस्था छ । त्यसका लागि प्रदेश १ मा ६२ सांसदको एकमत चाहिन्छ । नेकपा एक्लैसँग ६७ सांसद छन् ।

 

बृहत विराट क्षेत्र यथावत

विराटनगर राजधानी प्रस्ताव भएपनि इटहरी र गोठगाउँ राजधानी तोक्न माग गर्दै लिखित हस्ताक्षर अभियान चलाएका नेकपाका केही सांसदहरुको दबाबमा संरचनाहरु विकेन्द्रित गर्ने गरी प्रस्तावको थप व्याख्या गरिएको छ ।

आइतबारको संसदीय दलको बैठक सकेर आफ्नो दलको प्रस्तावमा दर्ता गरेको नेकपाले राजधानी रहने क्षेत्रको थप व्याख्या गरेको हो । सो प्रस्तावमा ‘कार्यपालिका, व्यवस्थापिका लगायतका अन्य संरचनाहरु बृहत विराट क्षेत्र अन्तरगत विराटनगर, इटहरी र सुन्दरहरैंचा क्षेत्र आसपासका क्षेत्रमा रहने छ’ भनि उल्लेख छ ।

 

अलग प्रस्ताव दर्ता गर्नेलाई कारवाही

नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईले पार्टीको तर्फबाट अलग प्रस्ताव दर्ता गर्ने जोसुकैलाई पनि कारवाही गर्ने चेतावनी दिएका छन् । उनले धनकुटाका सांसदहरुले अलगै प्रस्ताव दर्ता गरेको भन्दै कारवाहीको प्रक्रिया अघि बढाउने बताए । आफ्नो दलका सांसदहरुले दर्ता गरेका अलग प्रस्तावहरु प्रदेशसभामा पुग्नु अगावै फिर्ता हुने पनि जानकारी दिए ।

पार्टीको जिल्लास्थित नेतृत्वको चर्को दवावमा परेका धनकुटाका सांसदहरुले आफ्नो राजनीति जोगाउनकै लागि भएपनि प्रस्ताव दर्ता गर्ने तयारीमा थिए । प्रस्तावको समर्थक बसेका सांसद इन्द्रमणि पराजुलीले धनकुटाका सवै सांसदले पार्टीको निर्णयविरुद्ध असहमति जनाएको दाबी गरे ।

उनले संसदीय दलको बैठकमा ‘पार्टीले गरेको निर्णयमा असहमति जनाउछौं’ भनेर लिखित असहमति दर्ता गरेको बताए । असहमति जनाउनेमा आफूसहित प्रस्ताव निरन राई, कुसुमकुमारी श्रेष्ठ र विना राई रहेको जानकारी दिए । सांसद कुसुमकुमारी श्रेष्ठले भने आफूले धनकुटे जनताको कुरा राखेको दाबी गर्दै कुरा राख्दा कारवाही हुन्छ भने सहने बताइन् ।

प्रमुख विपक्षी दल कांग्रेसका नेता राजीव कोइरालाले नेकपास“ग कुरा नमिलेकोले छुट्टै प्रस्ताव दर्ता गरिएको बताए । उनले मन्त्रिपरिषद्ले तोक्न सक्ने प्रशासनिक इकाईहरु राजधानीको प्रस्तावमा स“गै जोडेर ल्याइएकोले कांग्रेसले त्यसलाई अस्वीकार गर्ने जानकारी दिए ।

उनले राजनीतिक र ऐतिहासिक रुपमा छुट्टै पहिचान बोकेको विराटनगरमा सवै संरचना भएकोले राजधानी हुनुपर्छ भन्ने कांग्रेसको माग रहेको बताए । कोइरालाले पनि आफ्नो दलका सांसदहरुले छुट्टै प्रस्ताव दर्ता गरेको भन्दै छानबिन गर्ने बताए । ‘कसले दर्ता गर्नु भएको छ हामी छानबिन गर्छौं’ उनले भने ।

तपाईको प्रतिक्रिया