उदयपुर : आन्तरिक राजस्व करदाता सेवा कार्यालय गाईघाटले लक्ष्यभन्दा बढी कर संकलन गरेको छ। चालु आर्थिकको नौ महिनामा २५ करोड १० लाख ६४ हजार रुपैयाँ कर संकलन भएको छ। गत आर्थिक वर्ष ०७४÷०७५ मा ३० करोड ६३ लाख ८३ हजार कर संकलन गरेको थियो। ‘चालु आर्थिक वर्षमा २५ प्रतिशतभन्दा बढी कर संकलन भएको छ,’ करदाता सेवा कार्यालय गाईघाटका प्रमुख सुमन बुढाथोकीले भने, ‘आउने असार मसान्तसम्म बढ्ने संकेत देखिएको छ।’ कार्याललयका अनुसार आयकर १२ करोड ९३ लाख ४० हजार, मूल्य अभिवृद्धि कर नौ करोड ५६ लाख नौ हजार, अन्तःशुल्क दुई करोड १२ लाख ७८ हजार, बहाल कर ५८ लाख ३९ हजार, ब्याज कर २२ लाख ६९ हजार, शिक्षा सेवा शुल्क १४ लाख ७८ हजार, स्वास्थ्य सेवा शुल्क दुई लाख ६१ हजार रुपैयाँ संकलन भएको प्रमुख बुढाथोकीले जानकारी दिए। चालु आर्थिक वर्षको नौ महिनामा २५ करोड १० लाख ६४ हजार रुपैयाँ कर संकलन भइसकेको र बाँकी तीन महिनामा १० करोडभन्दा माथि कर संकलन गर्न सकिने कार्यालय प्रमुख बुढाथोकीले बताए।  करदाता सेवा कार्यालय गाईघाटमा चालु आर्थिक वर्षमा आयकर दर्ता १ हजार ३६३, मूल्य अभिवृद्धि दर्ता १३३, अन्तःशुल्क दर्ता २५०, व्यक्तिगत स्थायी लेखा नम्बर ८५४ गरी दुई हजार ६०० थपिएका छन्। कार्यालयमा हालसम्म आयकर दर्ता नौ हजार ३९०, मूल्य अभिवृद्धि कर दर्ता एक हजार १२५, अन्तःशुल्क ९६२, व्यक्तिगत स्थायी लेखा नम्बर आठ हजार ७४५ गरी कुल २० हजार २२२ करदाता रहेका छन्।

समाचार मन परे Like गर्न नभुलौ ।

तपाईको प्रतिक्रिया

%d bloggers like this: