पहाडबाट नुन तेल किन्न मधेस झर्ने । बास बस्नका लागि उपयुक्त ठाउँ हो उदयपुरको कटारी, गाईघाट । जुनबेला जंगल फाँडेर बस्ती बसे, पहाड उक्लिन गाह्रो भयो । हजुरबुवा त्यो बेलाका उम्दाका जमिन्दार । सोझो हिसाबले कमाउनु भयो, जमिन्दार हुनुभयो । उहाँको सोझोपनलाई ‘थापा काजी’हरुले पुरै प्रयोग गरेछन । मर्नेबेला हजुर्बा खाली हात । एउटा जमिन्दार कसरी बेघरबार बन्न पुग्यो ? हजुरबुवाले विस्तारै सबै कुरा बुवालाई सुनाउनु भएछ ।

समाचार मन परे Like गर्न नभुलौ ।
समाचार मन परे Like गर्न नभुलौ ।

हाम्रो पारिवारिक इतिहास यस्तै उतारचढावमा बितेको छ । बिनोद कटुवाल ‘दिवस’ले पुर्खा सम्झँदै भने । हजुर्बुवाको नाममा रहेको जग्गा जमिन यहाँका थापाकाजीहरुले कसरी कब्जा गरे ? भन्ने बुवाले राम्ररी बुझ्नु भएछ । यी ‘षड्यन्त्रकारी’हरुलाई अब, छोड्नु हुन्न भनेर बुवाले गाउँमा उधुम मच्चाउन थाल्नु भएछ ।

कहिले सामन्ती भनेर खेत कब्जा गर्ने, कहिले कुटपीट गर्ने काममा एकोहोरो लाग्नु भएछ । ‘सामन्त, फटाहा’हरुबीच एक्लो बुवाको के लाग्थ्यो र विचरा । स्थानीय ‘सामन्त’सँग लड्दालड्दै राज्यबाटै बुवालाई दुःख दिने काम भएछ । गाउँमा बुवा एक्लिँदै जानु भएछ । यसो पुराना मान्छेहरुसँग बुझ्दा बुवा कसरी क्रान्तिकारी हुनुभएछ त ? भन्ने इतिहास यसरी सुन्छु ।

चिरा परेका कम्युनिस्ट पार्टीहरुलाई एकीकृत गर्ने तत्कालिन चौथो महाधिवेशन (चौम)को लहर सिन्धुलीसम्म निक्कै थियो रे । त्यस समयमा महाभारतको चुरे क्षेत्रमा ऋषि देवकोटा ‘आजाद’को निक्कै प्रभाव रहेछ । त्यहीबेला बुवा उहाँको सम्पर्कमा पुग्नु भएछ । ‘न्यूक्लस’ गठनताका बुवा सहित चार जना उदयुपरको संस्थापक बन्नुभएछ । त्यसपछि बुवा वर्गीय मुक्ति आन्दोलनमा एकोहोरो होमिनु भएछ ।
……
‘मेरो बुवाको नाम मोहन कटुवाल हो । बुवालाई प्रहरीले २०५५ कात्तिक १२ गते चिम्टाघारीमा प्रहरीले घेरा हालेर मारे । म त्यतिखेर ११ वर्षको थिएँ । पार्टीले राज्यसत्ताको स्थानीय निकालाई तहसनहस बनाएर ‘धक्का’ दिने योजना बुनेको थियो । यही अन्तर्गत चौकी, गाविस भवनलगायतका स्थानीय संरचना भत्काउने भन्ने थियो । त्यही क्रममा बुवाको शहादत भयो’ बिनोदले बाल्यकालमा भोगेको, देखेको बुवाको वर्ग संघर्षका कुरा फर्रर भन्दै गए ।

पार्टी सम्पर्कबाट दाइ, बहिनी खोज्ने काम गरे उनले । दाइ काम गर्न बुटवल पुगेको खबर पाए ।

बुवाको शहादतपछि गाउँमा बस्न सक्ने स्थिति भएन । स–परिवारले गाउँ छोडे । प्रहरीले आमा गंगालाई पनि छोडेनन् । साना तीनजना नानीहरुलाई अर्सल्लै छोडेर भाग्नुको विकल्प भएन आमाको । दाइ गाडी चढेर ज्यान पाल्न र सुरक्षित बन्न हिंडेछन बुटवलतिर । बहिनी भने नाता पर्ने छिमेकको सहारा लिन पुगिछिन । बिनोदलाई एउटै याद रहेछ ‘पार्टी लिन आउँछ ।’

‘‘पार्टी लिन आउँछ’ भन्ने पहिले बुवासँग आउने नेताहरुले भनेका थिए । त्यही सुनेर पर गाउँमा गएर बाख्रा चढाउने, कहिलेकाहिँ स्कुल जाने गरें । पार्टी आउँदै आएन । दिनकै प्रहरी गाउँमा पस्ने थाले । मलाई फलानो (मोहन कटुवाल)को छोरो भनेर चिने मात्रै सिध्याउँछन भन्ने गाउँमा त्रास फैलिरह्यो’, बिनोदले आफ्नो बाल्यकालका घट्ना सम्झँदै भने ।

चार महिनापछि बल्ल पार्टी सम्पर्क गराईदिए एक जना एमालेबाट वडा अध्यक्ष जितेका व्यक्तिले । पार्टी सम्पर्कबाट दाइ, बहिनी खोज्ने काम गरे उनले । दाइ काम गर्न बुटवल पुगेको खबर पाए । बहिनी अर्कै गाउँमा नाता पर्नेको घरमा बसिरहेको खबर पाए । पार्टी सम्पर्कबाट बहिनीलाई भेटे । पार्टीले उदयपुरबाट उनीहरुलाई कतै पढाउन लाने तयारी गर्यो ।

‘बाख्रा चराउने, पढ्ने, पार्टी भन्ने । म त अलमलमा थिएँ । टाइममै पार्टी सम्पर्क नभएको भए अहिले ड्राइभर हुन्थेँ कि, खाडीमा हुन्थे । तर, जिन्दगीमा धेरै भोगें । निरास भइँन । वर्गसंघर्षको चेतनाले डोर्याएपछि झन बलियो भएँ भन्ने लागेको छ’, बिनोदले सुनाए ।
…..
त्यो बेला त्यहाँ ध्रुब पराजुली इन्चार्ज दिए पार्टीको । केटाकेटीले दुःख पाएको देखेर सिन्धुपाल्चोक लाने कुरा गरे । बहिनीसँगै काठमाडौं आए । पछि दाइलाई बुटवलबाट फर्काए । काठमाडौंको अनुभव सुनाउँदै बिनोदले भने– ‘काठमाडौंको एउटा अध्याँरो कोठमा राखे । कोठालाई ‘सीसीएम’को कोठा भनिन्थ्यो । डल्लुमा थियो त्यो कोठा । दुई जना दाइभाइ थिए । गोरो अनुहारका भर्खरका युवा । पढिरहने । खासै कुरा गर्दैनथे । उनको नाम दीपक भन्ने पछि थाहा पाएँ । अर्का अलिक साना थिए । उनको नाम शैलेस भन्ने थाहा पाएँ । मैले झुक्केर ‘सीसीएमको कोठामा बस्छु’ भनेको सुनेर दाइहरुले त्यस्तो भन्नु हुन्न भने ।’

त्यो किताबले म काठमाडौंमा बस्न नसक्ने गरी उत्तेजित भएँ । दाइहरुलाई बन्दुक देउ, लाल सेना सिकाइदेउ भनेर हैरान बनाएँ । त्यो देखेर मलाई पढ्न सिन्धुपाल्चोक लगियो ।’

उदयपुर पार्टीले दिएको ३ सय रुपैयाँ जति पैसा गोजीमा थियो उनको । त्यही पैसाले रत्नपार्कमा शैलेसले ‘रातो चम्किलो तारा’ बाल उपन्यास किन्न लगाए । ६ कक्षा पास गरेकाले पढ्न उनलाई त्यस्तो अप्ठेरो भएन । ‘दीपक दाइ पढिरहेको देखेर, उहाँले जस्तै पढ्नु पर्छ भन्ने लाग्थ्यो । त्यो उपन्यास ३ दिनमा किताब पढेर सकें । त्यो किताबले म काठमाडौंमा बस्न नसक्ने गरी उत्तेजित भएँ । दाइहरुलाई बन्दुक देउ, लाल सेना सिकाइदेउ भनेर हैरान बनाएँ । त्यो देखेर मलाई पढ्न सिन्धुपाल्चोक लगियो ।’

बहिनीलाई माथि मंखामा पढ्ने व्यवस्था गरिदियो पार्टीले । उनी भने लामो घरमा बसेर पढ्ने व्यवस्था भयो । सिन्धुपाल्चोकको कुबिन्डे । जुन घर सिन्धुपाल्चोकभरी चर्चामा थियो । त्यो घर अग्नि सापकोटा ‘कञ्चन’का दाजुभाइ खलकको । मिठो मसिनो खाँदा बाँडिचुँडी खाने । परिवार धेरै भएकाले साँझ बिहान अलग खाने चलन थियो । लामो घरमा चार भाइका सन्तानले भरिएका थिए । त्यही परिवारमा अर्को सदस्य बने बिनोद ।

स्कुल जान झोलुङ्गे पुल तर्नुपर्ने । उदयपुरको चुरेमा झोलुङ्गे पुल नदेखेका बिनोदलाई अचम्मै लागेछ । ‘अरु विद्यार्थी ह्वारह्वार पुल तर्ने । म डरले पुलको लुठो समाएर विस्तारै हिंड्ने । साह्रै डर लाग्थ्यो । पुल देखेरै स्कुल नजाऔं जस्तो लाग्थ्यो । पछि बानी पर्यो’, उनले कुबिन्डेलाई सम्झँदै भने ।

सापकोटा परिवारभित्रै सहिद बन्ने क्रम जारी थियो । उनी एउटा सहिद परिवारका सदस्य थपिए । ‘म बस्दा बस्दै त्यो सापकोटा परिवारमा १० जनाको शहादत भयो । शान्ति प्रक्रियासम्म आइपुग्दा म बस्ने घर परिवारबाट १६ जना शहीद बने । मलाई त्यो देखेर झन आत्म बल मिल्थ्यो’, उनले भने– ‘सापकोटा परिवारमा गएर मेरो राजनीतिक चेत नखुलेको भए, सायद म अहिले फिल्ममा बालबालिकाको पींडा देखाउने पात्र भन्दा फरक हुन्न थिएँ होला ।’

त्यसलगत्तै उनी अखिल (क्रान्तिकारी) सेतीदेवी पञ्चकन्या मावि (हाल उच्च मावि), कुबिन्डे इकाई समितिमा आबद्ध भए । दिनकै प्रहरी आउन थाल्यो स्कुलमा । उनी झ्यालबाट फुट्ट बाहिरिन्थे । पढाई अब्बल भएकाले अग्नि सापकोटाले पढाउनमा विशेष जोड् दिएका थिए उनलाई । तर, उनको मनले मानेन । ‘सिंगै परिवार युद्धमा होमिने सापकोटाहरुको । अनि म घरमा कसरी बस्ने ? दाइहरुले नआइज भन्दा पनि म जबरजस्त हिंडे, पूर्वमा भएका ठूला कार्वाही सबैमा संलग्न हुँदै आएँ’, उनले भने ।
……..
२०५७ माघ १६ गते सिन्धुपाल्चोकको टेकनपुरबाट सानो ‘बाल सैन्य’ जसरी झोला बोकेको बालक थियो । अर्को दिन पिस्करमा माओवादीले पहिलो पटक ठूलो कार्यक्रम गर्यो । त्यसमा सबैले माया गर्दै भन्थे– ‘बिनोद बाबु ।’

चुलबुले स्वभावको बिनोद कहिले माओवादी छापामारको छेउँमा पुग्थ्यो । कहिले मञ्चमा आएर जगबाट पानी पिउँथ्यो । हामीले त्यस्तो वास्ता गरेनौं । तर, उसको बाल स्वभाव अरुको भन्दा भिन्न थियो । कार्यक्रमको सभापतित्व ‘क. बन्धु’ले गरेका थिए । सापकोटा परिवारको चार भाइ मध्ये कान्छा कमरेड बन्धु भएकाले उनैको घरमा हुर्किराखेका बिनोदलाई सबैले पुलपुल्याउने नै भए । यता साँस्कृतिक फाँटमा विष्णु प्रसाद सापकोटा ‘जुगल’, कलाकार सन्ध्याहरुकै काखमा हुर्केकाले बिनोलाई हतियार, मादल, हार्मोनियम सामान्य जस्तै भएको रहेछ ।

२०५७ चैत ५ गते अनेकोटमा कलाकारहरुको सम्झनामा कार्यक्रम हुन लागेको थियो । राजधानीबाट साहित्यकार, पत्रकारको टोली त्यहाँ पुगेको थियो । सानो झोला बोकेको उही केटा मेरो छेउँमा आइपुग्यो ।

‘दिदीहरुले फोटो मागेर ल्याइदिनु भन्नुभएको छ । मैले सन्ध्या, कबिता दिदीलाई सजिलै भेट्छु, फोटो दिनु पर्यो दाइ’, ती भाइले भने । मैले फोटो धुलाएर लगिदिएको थिएँ । कान्लामा फोटो हेर्दै गर्दा एक्कासी ड्याम्मै बम पड्केको आवाज आयो । अनेकोटलाई प्रहरीले घेरा मारिसकेको रहेछ । बिनोद र म आधा–आधा फोटो समाएर भागाभाग गरेर प्रहरीको घेरा तोड्न सफल भएऔं । साँझ तल कुन्ताबेंसीबाट समाचार पठाउने बेला उनै बिनोद हाम्रो सुरक्षा गार्ड बन्दा ‘जोक’ बनेको थियो ।

गाउँमा काम लाग्दैन भनेर ठूला छापामारले खिया लागेर फ्याँकेको कटुवा उनले सुटुक्कै टिपेका रहेछन । उनले त्यही कटुवा झोलामा लुकाएर हिंड्दा रहेछन । झोलाबाट झिकेर घेरा तोडेपछि बिनोदले भिरेर हामीलाई सुरक्षा दिन हिंडे । कुन्ताबेसींबाट समाचार पठाउने बेला घर बाहिर प्रहरीले घेरा हाल्यो । ती फुच्चे बिनोदले कटुवा तेर्साएर बसेको सम्झँदा उनी यसपाली भावुक बन्दै बाल मनोबिज्ञानको कुरा सम्झे । समाचार पठाइवरी वारी आएर सुत्ने बेला बिनोद म सँगै सुत्ने कहर गरे, र सुते ।

सुत्ने बेला उनले त्यही खिया लागेको कटुवा सिरानीमा राखेर सुते । ‘ए बिनोद भाइ त्यो कटुवा कता गयो ?’, हाहाहाहा (हाँस्दै)– ‘दाइ त्यो कटुवा बोकेको अझै बिर्सनु भएको रहेनछ । त्यो त साथीहरुले काम लाग्दैन भनेर फालेको बेला मैले राती खोजेर झोलामा लुकाएर राखेको थिएँ । कसरी हान्ने भन्ने थाहा थिएन । त्यसमा गोली त थिएन ।’ दुई दाजुभाइ मज्जाले हाँस्यौ यसपाली उदयपुर गाईघाटमा ।
…..
पार्टीले छोराछोरी पढाउन लगेको थाहा पाएपछि आमा गंगा पनि पार्टीमा जोडिंदै गइन । ‘पहिलो संकटकालताका आमालाई एक्कासी डिप्रेशन भएछ । पार्टी सम्पर्क टुट्दै गएछ । अब, छोराछोरी पनि मारिदिए होला भन्ने परेछ । बिरामी भएकाले घरमै बस्ने भनेर जानु भएछ । अहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारी घरमै पुगेर केही हुन्न सबै ठाउँ भनेको छु समेत भन्नु भएको रहेछ । डिप्रेशनकी बिरामी आमालाई तत्कालिन शाही सेनाले २०५९ चैत ८ गते घरबाटै पक्राउ गरेछ । त्यसपछि बेपत्ता पार्यो’, अर्को वियोगको कुरा सुनाउँदै बिनोदले भने ।

‘प्रहरी र सेनाले दिनै खेद्ने । सिन्धुपाल्चोकमा सबैले माया गर्थे । आमालाई सेनाले पक्राउ गरेको खबर पाएँ । सँगै रहेकाहरुबाट सुने अनुसार एक सातासम्म आमा रोएको सुनेको बताए । त्यसपछि सेनाले कहाँ लगेर मारे, अहिलेसम्म थाहा भएन । मलाई पढ्न मन लागेन’, उनले भने । ०५८ पछि माओवादीको युद्ध चर्किंदै गयो । बिनोद सिन्धुपाल्चोकबाट पढाई छोडेर भाग्ने मनस्थितिमा पुगे । सिन्धुपाल्चोकमा कसैलाई थाहा नदिई बिनोद सिन्धुली पार्टी सम्पर्कमा पुगे । त्यहाँ उनले शेरमान कुँवरलाई भेटे । उनले जसरी पनि सिन्धुपाल्चोक फर्किएर पढ्न भनेर फकाए । तर, उनले मानेनन् ।

‘एक पटक अग्नि सापकोटालाई भेट्न जाऊ भनेर शेरमान अंकल भन्नु भयो । मलाई उतै राख्छन भनेर मानिनँ । ‘मलाई जा भन्नु हुन्छ भने म आन्दोलन छोडेर कतै भाग्छु त’ भनेपछि शेरमान अंकल अलिक हच्किनु भयो । त्यसपछि सिन्धुलीमै विद्यार्थीको जिम्मा दिनुभयो । ६ महिना सिन्धुलीमा विद्यार्थी फाँटमा काम गरेर ‘बुवाको सपना पुरा गर्छु’ भनेर उदयपुर पार्टीमा आएँ’, उनले भने । उदयपुर आउँदा उनले त्यहाँका ‘कमरेड’हरुको आनीबानी, व्यवहार देखेर अचम्मै परे ।
‘कति साथीहरुलाई पीर पर्ला । तर, अचम्म भएँ नि दाइ उदयपुर आउँदा त ? सातकोष टाढा छ सुरक्षाफौजको क्याम्प । तर, हाम्रा साथीहरु त गाउँका घरभित्र लुकेर पर्दाले बारेर पुरुष, महिलाले कोप्रा, प्लास्किमा पिसाप फेरेर बस्ने दिनभरी । राती फ्याँक्ने । सिन्धुपाल्चोक, सिन्धुलीमा दिनकै राइफल समाएको, बम खेलाएको, खुलमखुला गाउँमा राजनीति गरेको म त सहनै सकिनँ । सबैसँग विवादमा उत्रेँ । पछि बल्ल पार्टी चलयमान भयो’, जिल्लामा त्यो बेलाको राजनीतिक अवस्था सम्झँदै उनले भने ।
…..
एकपटक २०६० सालमा उनले मलाई उदयपुरको सिर्सेनीमा भेटे । अर्को पटक २०६३ मा घुर्मीको ओरालोमा । उनले भने– ‘दाइ म उही कटुवा समाउने भाइ दिवस के ।’

‘को दिवस ?’

‘बिनोद के दाइ ? अनेकोटको घट्ना बिर्सनुभयो र ?’

त्यसपछि उनी र मेरो त्यस्तो सम्पर्क भएन । यसपाली नेकपा (माओवादी–केन्द्र) उदयपुरमा नयाँ नेतृत्व आयो । उनै बिनोद कुटवाल ‘दिवस’ भनेर । सानै उमेरदेखि कटुवा समाएर हिंड्ने त्यही बिनोद जिल्ला पार्टी अध्यक्ष । उनैसँग दुई दिनअघि उदयपुरमा भेट भयो । लामै गफ गरियो ।
‘बिचार हुन्न थियो भने म आज सडकमा हुन्थेँ । वर्ग संघर्षबाहेक मैले केही भोगिनँ, देखिनँ । हिजोको दिन सम्झँदा अहिले उपन्यासको पानामा पढेका जस्तो हुन्छन । अहिले वर्ग संघर्ष सक्किएकै हो या बिग्रियो ? भने जस्तो हुन्छ । सायद देशभर सबैभन्दा कम उमेरको जिल्ला पार्टी संयोजक मै हुँला’, बिनोदले भावुक भएर पुराना दिन सम्झिए ।

परीक्षा दिएँ, पास भएको छु । संघर्षका बेला यताउता गर्दा ढिला भयो । अब, डिग्री सक्छु । पार्टीलाई माथि लगाउने जिम्मा पनि आएको छ ।

‘हामी जस्ता हजारौं टुहुराहरुले सिँचिएको हो यो माओवादी आन्दोलन । अहिले कसैले यो, त्यो भनेर लगाउने आरोपले वर्ग संघर्षबाट बिचलित भइन्नँ । केही बिग्रेको पक्कै हो । यसलाई सपार्नैका लागि हामी जस्ता युवाहरु फेरी पनि लामबद्ध छौं’, उनले भने ।

सिन्धुपाल्चोक कुबिन्डेमा दिमाग भरी भरिएको राजनीतिक चेतनाले उनलाई अझै बल दिन्छ । बिनोदले भने– ‘म कुबिन्डेको त्यो घरमा नबसेको भए सायद यतिधेरै पींडा, अप्ठेरोका बीच वर्ग संघर्षलाई पकड्न सक्ने क्षमता विकास हुने थिएन होला । अहिले जे गरे, जति गरे गर्व लायककै छन् । यसमा मलाई कुनै पश्चताप छैन ।’

बिहेवारी गरी युद्धबाट बुवा, आमा गुमाएर छिन्नभिन्न परिवार सम्हालेर पार्टी समेत सम्हालेका छन् बिनोदले यतिबेला । २०६४ पछि प्राइभेट तर्फबाट एसएलसी गरे उनले । ‘प्लस टु’ सकेर यतिबेला ‘ब्याचलर’ दोस्रो वर्षमा अध्ययनरत छन् । ‘पढाईमा त दाइ अब्बलै छु नि । परीक्षा दिएँ, पास भएको छु । संघर्षका बेला यताउता गर्दा ढिला भयो । अब, डिग्री सक्छु । पार्टीलाई माथि लगाउने जिम्मा पनि आएको छ । यसलाई पनि सँगसँगै पुरा गर्नुछ’, उनले भने ।

यो लेख नेपाल पत्रकार महास‌ंघका पूर्व महासचिव उजिर मगरले २०७३ माघमा तयार गर्नु भएको हो ।

तपाईको प्रतिक्रिया

%d bloggers like this: